खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । उच्च अदालत पाटन, हेटौँडा इजलास गत आर्थिक वर्ष २०७९/०८० मा ७५ प्रशित मुद्दा फछ्यौट गरेको छ ।
उच्च अदालत पाटन, हेटौँडा इजलासले यहाँ आयोजना गरेको कार्यक्रममा गत आवमा एक हजार ७४१ थान मुद्दा रहेकोमा ७५.३६ प्रतिशत अर्थात एक हजार ३१२ वटा मुद्दा फछ्यौट भएको जानकारी दिएको हो ।
अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा इजलासका अनुसार आव २०७८/०७९ बाट जिम्मेवारी सरेर आएको ५४५ र आव २०७९/०८० मा दर्ता भएका एक हजार १९६ सहित एक हजार ७४१ थान मुद्दा पुगेको जानकारी दिइएको थियो ।
अदालतमा बाँकी रहेका मुद्दामा एक वर्ष अवधि नाघेका ३१ थान र १८ महिना नाघेका एक थान मुद्दा बाँकी रहेको छ ।
अदालतका सूचना अधिकारी केशव ढुङ्गानाले आव २०७८/०७९ बाट जिम्मेवारी सरेर आएकोमध्ये ३० थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको भन्दै गत आवबाट चालु आव २०८०÷८१ को लागि ४२९ थान मुद्दा जिम्मेवारी सरेर आएको बताउनुभयो ।
चालु आवमा एक हजार ६९६ मुद्दा दर्ता हुने र एक हजार १०४ मुद्दा फछ्र्यौट हुने अदालतको अनुमान छ ।
सात जना न्यायाधीश दरबन्दी रहेको हेटौँडा इजलासमा हाल चार जनामा न्यायाधीश रहेका छन् ।