एक जनाको १५ घण्टापछि उद्धार, पाँच जना बेपत्ता
खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानमा गएरातिबाट परेको अविरल वर्षाको कारण आएको भल पहिरोमा परी एक जनाको मृत्युभएको छ । पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा निजको श्रीमती सन्तमाया स्याङ्तानको मृत्युभएको हो । पहिरोमा परी घाईते भएकी ५५ वर्षीया सन्तमायालाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि लगेकोमा उपचारको क्रममा मङ्गलबार बिहान ०८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मङ्गलबार बिहान अन्दाजी ४ः०० बजेको समयमा आएको पहिरोमा गरी ६० वर्षीय अक्कलबहादुरसहित छ जना बेपत्ता भएकोमा एक जनालाई करिब १५ घण्टापछि बागमती नदीबाट उद्धार गरिएको छ । सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका १ कोकरेका अन्दाजी १७ वर्षीय पल्साङ घिसिङलाई घाईते अवस्थामा बागमती खोलामा माछा मार्न गएको युवाले फेला पारी उद्धार गरिएको थियो । साँझ ७ बजे उद्धारपछि घिसिङलाई काठको मुढामा तैरी रहेको अवस्थामा उद्धारपछि उपचारको लागि हेटौँडा ल्याइएको छ । घिसिङ पाहुना भई अक्कलबहादुरको घरमा बास बस्नुभएको थियो ।
पहिरोमा परी अक्कलबहादुरसहित निजको २२ वर्षीया शिला पहरी, ज्वाइ वर्ष २५ का जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी अझै वेपत्ता छन् ।
पहिरोमा परी वेपत्ताभएकाहरुको खाजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तस्विरः मनोज नेगीको फेसबुकबाट ।