खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । गत असार महिनादेखिनै डेङ्गु रोगको सङक्रमण तीव्र बन्दै गएको बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सोमबार १०२ जना डेङ्गु रोगको सङक्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना सङक्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा एक हजार ७६८ पुगेको छ ।
शुक्रबार, शनिबार र आइतबार क्रमशः ५७ जना, एक जना र ६० जना डेङ्गुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसाल प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको बताउनुहुन्छ ।
यस प्रदेशमा गत जनवरी यता सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि यता धादिङ जिल्लामा एक हजार २१९, काठमाडौँमा २३३, ललितपुरमा ८४, भक्तपुरमा ५७, नुवाकोटमा ३४, रामेछापमा २९, चितवन ४१, मकवानपुरमा २९, काभ्रे १६, सिन्धुली १४, रसुवा चार, दोलखा तीन र सिन्धुपाल्चोकमा पाँच जनामा डेङ्गु सङ्क्रमण भएको छ ।