ठूला उपकरण अब खरिद गर्दैनौः स्वास्थ्यमन्त्री बस्नेत

लोकप्रिय

खासकुरा संवाददाता
धुलिखेल, साउन २४ गते
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक ठूला स्वास्थ्य उपकरण खरिद नगर्ने बताउनुभएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को बागमती प्रदेशको प्रादेशिक सार्वजनिकीरणको अवसरमा धुलिखेलमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारी अस्पतालहरुले महँगा र ठूला उपकरण खरिद गर्दा बिरामीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ केन्द्रित भएको पाइएकोले अब मन्त्रालयले अत्यावश्यक बाहेक ठूला उपकरण खरिद नगर्ने बताउनुभएको हो । बजार मूल्यभन्दा बढी मूल्य राखेर टेण्डर गर्ने गरेको पाइएको बताउँदै मन्त्री बस्नेतले अहिलेको खरिद प्रकृया सुधार गरेपछि मात्र ठूला उपकरण खरिद गरिने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘एक्सरे, इसिजी, भिडियो एक्सरेलगायतका साना उपकरण नभएकै कारण दूरदराजका जनताले सामान्य उपचारसमेत पाउन सकिरहेका छैनन् । मन्त्रालयले त्यतातिर पनि ध्यान दिनु जरुरी छ ।’ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनामै स्वास्थ्यमा जनताले अनुभूति हुने गरी काम गरेको बताउँदै मन्त्री बस्नेतले सङ्घीय सरकारमातहतका अस्पतालका तीन हजार ५२३ जनरल शय्या विपन्नका लागि निःशुल्क गरेको र निजी अस्पतालहरुमा समेत १० प्रतिसत शय्या विपन्नका लागि निःशुल्क गर्नु पर्ने नियम कडाईका लागि लागू गराएको दावी गर्नुभयो । धुमपानमा लाग्ने स्वास्थ्य कर कोषको सम्पूर्ण रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्नेमा अर्थ मन्त्रालयले छ अर्ब रुपियाँमध्ये स्वास्थ्यलाई ४० करोड रुपियाँ मात्र दिने गरेको बताउँदै स्वास्थ्य करको सम्पूर्ण रकम स्वास्थ्यले पाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफू रुपान्तरण भएर मात्र स्वास्थ्य क्षेत्रको रुपान्तरण गर्न सकिने बताउँदै आफू रुपान्तरण हुन तयार रहेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले आर्थिक श्रोतको अभावमा स्थानीय तहमा खोलिएका पाँच, १० र १५ शय्याका स्वास्थ्य संस्था बन्द हुन नदिने बताउँदै जनशक्ति व्यवस्थापनका लागि पनि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पैरवी गरिरहेको बताए । मन्त्रालयको नीति योजना महासाखाका प्रमुख डा. कृष्ण पौडेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. रुद्र मरासिनी, जनसङ्ख्या महाशाखाका सहसचिव रमेश केसीले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य साखा प्रमुखहरुको सहभागिता थियो ।

ताजा समाचार

Related Articles