श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते ।
मकवानपुरको भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबिच योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु कार्यान्वयन गर्न सम्झौता भएको छ ।
कोषको कार्यालयमा मङ्गलबार भएको कार्यक्रममा कोष र गाउँपालिकाबिच अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा कोषका कार्यकारी कृष्णप्रसाद ज्ञवाली र गाउँपालिका अध्यक्ष हिदम लामाले हस्ताक्षर गर्नुभएको थियो । अनौपचारिक क्षेत्रको सामाजिक सुरक्षा योजना कार्यान्वयका लागि कोषसँग सम्झौता गर्ने फेदीखोला गाउँपालिकापछि भीमफेदी गाउँपालिका हो । भीमफेदी गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु कार्यान्वयन गर्न सम्झौता गर्न कोषसँग सम्झौता गर्ने बागमती प्रदेशकै पहिलो पालिका हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले पालिकाभित्रका अनौपचारिक क्षेत्रमा श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन आव्हान गरिने बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ म पालिकाभित्रका सय जना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने गरी बजेट विनियोजन गरेको छ ।
सम्झौता अनुसार श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने व्यवस्था छ ।
गाउँपालिका अध्यक्ष हिदम लामाले पालिकाको गाउँसभाबाट स्वीकृत नीति तथा कार्यक्रमअनुसार अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्यसँगै सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताको लागि सामाजिक सुरक्षा कोषसँग सम्झौता गरिएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles