खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
बागमती प्रदेशको भैतिक पूर्वाधार मन्त्रालयमार्फत गत आर्थिक वर्षमा कार्यान्वयन हुनुपर्ने १७६ योजना अधुरा रहेका छन् ।
ती अधुरा रहेका योजनालाई चालु वर्ष २०८०÷०८१ मा सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।
गत आवमा मन्त्रालयमार्फत प्रदेशका विभिन्न कार्यालयहरुबाट कार्यान्वयन गर्ने गरी बजेट विनियोजन भएकामध्ये १७६ योजना अधुरा रहेका छन् । सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय, चितवनअन्तर्गतका १०१ योजना अधुरो रहेको मन्त्रालयले जनाएको छ । यस्तै पूर्वाधार विकास कार्यालय, ललितपुरअन्तर्गतका २०, पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोकअन्तर्गतका ५०, पूर्वाधार विकास कार्यालय, रामेछाप अन्तर्गतका तीन वटा र प्रादेशिक सडक डिभिजन कार्यालय, सिन्धुलीअन्तर्गतका दुई वटा योजना अधुरा रहेको मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको अन्तिमचरणका पानी परेका, सामग्री उपलब्ध नभएकालगायतका कारण ती योजनाहरु अधुरो रहेको बताउँदै चालु आवमा सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइएको र बजेटसमेत व्यवस्था भएको छ ।
अधुरा रहेका योजनाहरु सम्पन्न गर्न ३० करोड १४ लाख १४ हजार रुपियाँ लाग्ने अनुमान रहेको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालय, चितवनमार्फत सम्पन्न गर्नुपर्ने अधुरा योजनाका लागि १५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
यसैगरी गत आवमा प्रादेशिक योजना, सङ्घीय सशर्त अनुदान, सङ्घीय समपुरक अनुदान र विशेष अनुदानका गरी तीन हजार ८८३ वटा योजना रहेकोमा दुई हजार ६०९ वटा योजना सम्पन्न भएका छन् । गत आवमा कार्यान्वयनमा गएका योजनामध्ये प्रदेश सरकारमातहतका सडकका योजना मात्रै तीन हजार ३५५ वटा रहेको थियो । साथै सडक पुलका १६३ र झोलुङ्गे पुलको ४८ वटा योजना रहेकोमा सडकको दुई हजार ३७७ वटा, सडक पुलको ४४ र झोलुङ्गे पुलको छ वटा योजना सम्पन्न भएको छ । तीन हजार ८८३ वटा योजनामध्ये प्रदेश र सङ्घको गरी २११ वटा योजना कार्यान्वयन नै नभएको भन्दै गत आवमा परेको योजनाहरुमा सडक, सडक पुल, झोलुङ्गे पुल, भवन निर्माणका योजनाहरु रहेको मन्त्रालयका प्रवक्ता सिंहले बताउनुभयो ।
गत आवमा प्रदेश सरकारको सडकको ९६ वटा, सडक पुल ६१ वटा, झोलुङ्गे पुल २९ वटा तथा सङ्घीय सशर्त अनुदानको सडकको २० र सडक पुलको पाँच वटा योजना कार्यान्वयनमा नै आएनन् ।