प्रदेश सभा बन्यो ठूला दलको अनिर्णयको बन्दी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते ।
बागमती प्रदेशको प्रदेश सभाको डेढ महिनादेखि बस्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि भन्दै स्थागित गरिएको प्रदेश सभाको बैठक अझै बस्न नसकेको हो ।
प्रदेशभर बाढी पहिरोलगायत प्राकृतिक विपत्तिमा नागरिक पर्दासमेत नागरिकको समस्या उठान गर्ने थलो बागमती प्रदेशको प्रदेश सभा बैठक राख्न प्रदेश सभाका सदस्यहरुले गरेको आग्रह सुनुवाई भएको छैन ।
गत असार २१ गते बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आगामी आवको बजेट प्रदेश सभाबाट पारित भएपछि अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारीसहित बैठक स्थगित गर्नुभएको थियो । तर त्यसयता प्रदेश सभाका सदस्यहरुले प्रदेश सभाको बैठक बस्नुपर्ने माग गर्दासमेत सभामुख पाठकले अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरिएको प्रदेश सभाको बैठक बोलाउन पुनः प्रदेश सभा सचिवालयबाट सूचना जारी भएको छैन ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँ प्रदेश सरकारले प्रदेश सभालाई विजिनेस दिएर प्रदेश सभाको बैठक बोलाउनुपर्ने बताउनुहुन्छ ।
उहाँले प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्ने र आवश्यकताको आधारमा बैठक राख्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेश सभाको गत असारमा स्थगित भएको बैठक बस्ने र राख्ने बारेमा आफूहरुसँग कुनै सम्पर्क भएको छैन ।
यस्तै नेकपा एमालेले प्रदेश सभाको बैठक तत्काल राख्न माग गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलले नागरिक रोग र भोगसँग लडिरहेको, बाढी पहिरोलगायतका समस्या झेलिरहेका अवस्थामा नागरिकका आवाज उठान गर्न प्रदेश सभाको बैठक राख्नुपर्ने माग गरेको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिकका प्रतिनिधि प्रदेश सभाका सदस्यहरु प्रदेश सभा बैठकमा नागरिकका आवाज बोल्न चाहन्छन भन्दै भन्दै तत्काल बैठक राख्न माग गर्नुभएको छ । नागरिकका पक्षमा गर्नुपर्ने काम धेरै छन्, तर सरकार मन्त्रालय फुटाउँदै मन्त्री थप्ने र प्रदेश सरकारलाई आर्थिक व्ययभार बढाउनेतर्फ केन्द्रित रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो सरकारले प्रदेश सभालाई विजिनेस दिने र बैठक राख्ने व्यवस्था प्रदेश सरकारले मिलाउन सकेको छैन ।
प्रदेश सभामा हाल प्रदेश प्रमुखले सुझावसहित पठाएको चिठा विधेयक बाहेक अन्य विधेयक छैन । प्रदेश सभाको दोश्रो कार्यकाल सुरु भएयता प्रदेश सभा पेस भएका चार वटा विधेयकमध्ये तीन वटा प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भई ऐनसमेत बनिसकेको छ । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको हो । प्रदेशस्तरको चिठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गरी प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा प्रदेश प्रमुखबाट फिर्ता भएको थियो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ता प्रदेश सभाको बैठक छिट्टै बस्ने सम्भावना रहेको बताउनुहुन्छ । केही विधेयक प्रदेश सभा दर्ता हुने तयारी रहेको जानकारी पाएको भन्दै प्रवक्ता गुप्ताले कहिले बस्ने भन्ने यकिन नभएको बताउनुभयो ।
यस्तै प्रदेश सरकारका आन्तरिक माहिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सभाको बैठक राख्ने बारेमा छलफल भईरहेको भन्दै विजिनेस दिएर बैठक राख्ने तयारीमा रहेको बताउनुभयो ।
प्रदेश सभाका लागि आवश्यक विजिनेस दिन मन्त्रीपरिषद्बाट विधेयक स्वीकृत गर्नुपर्ने हुन्छ मन्त्री श्रेष्ठले भन्नुभयो, छिट्टै मन्त्रीपरिषद् बसेर विधेयक स्वीकृत गरी प्रदेश सभामा दर्तापछि प्रदेश सभाको बैठक बस्ने छ ।

ताजा समाचार

Related Articles