फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु हुँदैनः मन्त्री बस्नेत

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ५ गते ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु नपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको सङ्ख्याभन्दा फार्मेसीको सङ्ख्या बढी भएको दावी गर्दै फर्मासिष्ट बिना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताउनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ यसरी फर्मासिष्ट बिनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौ । ’ केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धरै जसो फार्मेसी फर्मासिष्ट बिनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढीरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउँदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशील बस्तु बिक्री वितरणमा बदमासी गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्नपछि नपर्ने बताउनुभयो । औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने आवश्यकतामा मन्त्री बस्नेतले जोड दिनुभयो । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभयो । विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारीढङ्गले देशैभरिका सबै फार्मेसीहरुको अनुगमनको काम गर्न नसकिरहेको भन्दै उहाँले गत वर्ष मात्र तीन हजारभन्दा बढी फार्मेसीको निरीक्षण गरेको, दुई हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागका गुणस्तर मापन तथा कानून कार्यान्वयन महाशाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोक गरी ३२ हजार औषधि पसल रहेको जानकारी दिँदै दैनिक सात देखि १० वटा औषधि पसल दर्ता हुने गरेको बताउनुभयो । क्षेत्रीले हालै साउनमा मात्र १९० औषधि पसलको अनुगमन गरेको जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने क्षमता अभिवृद्घि तालिममा फर्मासिष्ट र सहायक फर्मासिष्ट गरी सय जनाभन्दा बढीको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles