प्रहरीको क्षमता विकासमा सहयोग हुन्छः मुख्यमन्त्री

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा हेटौँडा उपमहानगरपालिका १८ मा प्रहरी चौकीको निर्माण भएको छ । नवनिर्मित प्रहरी चौकी ठुलोदमारको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले प्रहरी सङ्गठनको लागि आवश्यक भौतिक पूर्वाधारको विकासका लागि सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उहाँले प्रहरीको क्षमताको अभिवृद्धिको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीको नवनिर्मित प्रहरी चौकी भवन मुल्य अभिवृद्धि करसहित दुई करोड ३५ लाख ८६ हजार ७५९ रुपियाँको लागतमा निर्माण भएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, नगरप्रमुख मीनाकुमारी लामा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्ष्णक किरण राणाले प्रदेश सरकारबाट प्रहरी सङ्गठनको सुदृढिकरणमा आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles