बागमती प्रदेश सभा बैठक भदौ १७ मा बस्दै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते ।
गत असार २१ गते स्थगित गरिएको बागमती प्रदेश सरकारको बैठक यही भदौ १७ गते बस्ने भएको छ ।
बागमती प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेलगायत प्रदेश सभाका सदस्यहरुको मागपछि बैठक राख्न लागिएको हो ।
प्रदेश सरकारको बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक स्थागित गर्नुभएको थियो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सभाको बैठक यही भदौ १७ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।
विजिनेसविहीन भएका कारण बस्न नसकेको प्रदेश सभाको बैठकमा प्रदेश सरकार केही विधेयक पेस गर्नेसमेत तयारी गरेको छ ।
प्रदेश सरकारले केही ऐन संशोधन र केही विगतमा निस्क्रिय भएका अध्यादेशसहित पाँच वटा विधेयक प्रदेश सभामा पेस गर्ने तयारी गरेको हो ।
प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न मन्त्रीपरिषद्बाट स्वीकृति प्रदान गरेकोले संशोधनका लागि प्रदेश सभा सचिवालयमा दर्ता गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गरिने भएको छ ।

ताजा समाचार

Related Articles