काठमाडौँ, भदौ ८ गते ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने सम्झौता भएको छ । मन्त्री बस्नेतले उक्त सम्झौताले कर्णाली प्रदेशकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आँखा उपचारका लागि रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता गर्नुभयो ।
उहाँले भन्नुभयो, “दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।”
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा. सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानअन्र्तगत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताउनुभयो ।
कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“विगत तीन वर्षदेखि बहिरङ्ग सेवा उपलब्ध भइरहेको छ । एक जना नेत्र रोग विशेषज्ञ हुनुहुन्थ्यो, अहिले विशेषज्ञ उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।