अपहरणको बहाना बनाएको आरोपमा पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १० गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ५ का कुमार प्रजाले लुकिछिपी बस्दै आई अपहरण गरेको बहाना बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका भनिएका ४६ वर्षीय कुमारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिकाबाट नियन्त्रणमा लिएर आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गत आइतबार बिहानको ११ः३० बजेको समयमा घरबाट हराई परिवारसमेतसँग सम्पर्कविहीन भएको भनिएका कुमार र निर्मल भन्ने सानुबाबु रुम्बा बिचमा आर्थिक लेनदेन रहेकोमा बादबिवाद भई सानुबाबुले बेपत्ता पारेको आरोप लगाइएको थियो । रुम्बाले श्रीमान्लाई बेपत्ता पारी अपहरणसमेत गरेको हुनसक्ने भन्दै निज श्रीमान्को खोजतलास गरिदिन र रुम्बामाथि आवश्यक कारबाही गर्न निजको श्रीमती आईतीमाया चेपाङले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हुलियासहितको निवेदन दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक सीताराम रिजालका अनुसारमा निज कुमारको खोजतलास तथा निजको बारेमा गोप्य रुपमा अनुसन्धान गर्दै जाने क्रममा कुमारको श्रीमती तथा परिवारका अन्य सदस्यहरुसँग निरन्तर टेलिफोनसम्पर्कमा रहेको खुल्न आएको जानकारी दिनुभयो । कुमारलाई मकवानपुरको मनहरी गाउँपालिका ४ नयाँबस्तीस्थित सूर्यबहादुर प्रजाको घरमा आफै लुकीछिपी बसेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले आइतबार बिहानको ५ः०० बजेको समयमा सूर्यबहादुरको घर नजिक रहेको अनुग्रह चर्चबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले कुमारलाई तपाई आफै घरबाट निस्की आफै लुकीछिपी बसी किन अपहरण भएको भन्दै झुट्टो अफवाह फैलाउनु भएको हो भनेर सोधपुछ गर्दा निजले अश्लिल शब्दहरु बोली खटिएको प्रहरी टोलीसँग वादबिवाद गरी अभद्र व्यवहार गरेको प्रहरीको भनाई छ । कुमारले प्रहरीमाथि अभद्र व्यवहार गरेकोले निजलाई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles