अपाङ्ग पुनर्स्थापना केन्द्रको भवनमा शिक्षा निर्देशनालय

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ११ गते ।
सरकारी बजेटको हिनामिना र एउटै काममा दोहोरोपना हुनु सामान्य जस्तै बन्दै गएको छ । बजेटको दुरुपयोग रोक्ने मात्र होइन, जुन उद्देश्य र प्रयोजनका लागि भौतिक संरचना बन्छ त्यही काममा उपयोग गर्नुपर्ने हो । तर बागमती प्रदेश सरकारले एउटा प्रयोजनका लागि बनाएको भौतिक संरचना अर्कै काममा प्रयोगमा ल्याएको पाइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्ग पुनर्स्थापना केन्द्रका लागि बनाएको भवन यतिखेर प्रदेशको शिक्षा विकास निर्देशनालय, मकवानपुरले प्रयोग गर्दै आएको छ ।
पूर्ण अपाङ्गता भएकाहरुलाई लक्षित गरी हेटौँडा उपमहानगरपालिका ७ मा निर्माण गरिएको पुनस्र्थापना केन्द्रको भवन प्रदेश सरकारकै उद्देश्य र लक्ष्यविपरीत निर्देशनालयलाई प्रयोग गर्न दिइएको हो ।
मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाई गजुरी, धादिङमार्फत आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण सुरुभएको उक्त भवन हस्तान्तरण भएसँगै गत साउन ४ गतेबाट निर्देशनालयले प्रयोग गर्दै आएको छ । अपाङ्गमैत्री उक्त भवन पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र रुपमा व्यवस्थित गर्न निर्माण गरिएको हो । भवन निर्माणको क्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपाललाई भवन निर्माणको रेखदेख र अनुगमन गर्न पनि भनियो । तर जब भवनले पूर्णता पायो तब नत अपाङ्गता भएकाहरुको पुनस्र्थापन गर्न चासो देखाइयो नत भवन निर्माणको रेखदेख गर्न भनिएको अपाङ्ग महासङ्घसँग भवनलाई कसरी प्रयोगमा ल्याउने भनेर सोधी खोजी नै गरियो ।
आव २०७७/०७८ को बजेटमा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र निर्माण गर्न भन्दै भवनका लागि एक करोड ८० लाख रुपियाँ विनियोजन गर्नुभएको थियो ।
सार्वजनिक निर्माण कार्यान्वयन एकाई गजुरीका इन्जिनियर प्रकाश काफ्लेले उक्त भवन अपाङ्ग पुनर्स्थापना केन्द्रका लागि निर्माण गरिएको बताउँदै भवन निर्माण लागत दुई करोड ८१ लाख रुपियाँ रहेको जानकारी दिनुभयो । १६ कोठे भवन निर्माण भएको छ, दुई वटा हल पनि छन्, एउटालाई पछि भान्छाको रुपमा प्रयोग गर्न सकिन्छ उहाँले भन्नुभयो ।

भवनको दुरुपयोग भयो
राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपाल बागमती प्रदेश समितिले अपाङ्गताभएका व्यक्तिहरुको सहजता र सहयोगलाई लक्षित गरी निर्माण गरिएको भवन शिक्षा निर्देशनालयलाई प्रयोग गर्न मन्त्रालयले दिएको आपत्ति जनाएको छ ।
महासङ्घ बागमतीका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता भएकालाई लक्षित गरी बनाइएको भवन अर्कै प्रयोजनमा दिनु उचित नभएको बताउनुभयो । अपाङ्गता भएकोलाई पुनसर््थापना गर्न भवन निर्माण गरिएको हो उहाँले भन्नुभयो अपाङ्गता भएकाहरुका लागि विकल्पको व्यवस्था नगरी फरक काममा प्रयोग गर्नु भवनको दुरुपयोग हो ।
पुनस्र्थापना केन्द्रको भवन अपाङ्गता भएकाले प्रयोग गर्न नपाउनु सरकारकै उद्देश्यविपरीत त छँदै उहाँले भन्नुभयो, अपाङ्गता भएकाहरुको हित, अधिकार र संरक्षण विपरीतसमेत छ ।
शिक्षा विकास निर्देशनालय यसअघि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा बस्दै आएको थियो ।
तर सामाजिक विकास मन्त्रालयमातहतकै शिक्षा विकास निर्देशनालयले हाल आफू बस्न पुगेको भवन कुन प्रयोजनका लागि बनाएको हो भन्ने आफूलाई थाहा नै नभएको प्रतिक्रिया दिएको छ ।
निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले भन्नुभयो, भवन के प्रयोजनका लागि बनेको हो हामीलाई थाहा हुँदैन र भएन, मन्त्रालयलाई नै थाहा हुन्छ ।
उहाँले अगाडि भन्नुभयो, परीक्षा सञ्चालन गर्न भवन अभाव भएपछि मन्त्रालयमा हामीलाई भवन चाहियो भन्यौ यो भवन देखाइयो हामी बस्न आयौ ।
उता सार्वजनिक निर्माण कार्यान्वयन एकाई प्रमुख दीपेन्द्र सुवेदी निर्देशनालय यसअघि बसेको भवनमा समस्या भएकोले अपाङ्ग पुनर्स्थापना केन्द्रको भवनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुहुन्छ । उहाँले पुनसर््थापना केन्द्रमा बस्नेहरु अहिलेनभएको बताउँदै निर्देशनालयका लागि अर्को भवन निर्माण गर्ने प्रक्रिया सुरु भएको र एक, डेढ वर्षमा बनेपछि आफ्नै भवनमा स्थानान्तरण हुने बताउनुभयो । उहाँका अनुसार निर्देशनालयको भवन हेटौँडा ८ मा निर्माण गर्न तीन करोड रुपियाँ चालु आवमा विनियोजन भएको छ । डिपिआरअनुसार निर्देशनालयको भवन निर्माण गर्न २० करोड रुपियाँ र निर्माण कम्पनीले समयमा काम गरेका कम्तीमा तीन वर्षमा बन्ने जनाइएको छ ।
निर्देशनालयको सम्पूर्ण संरचना निर्माण गर्न तीन वर्ष लाग्ने र मुख्य भवन भने कम्तीमा दुई वर्षमा बन्ने जानकारी दिँदै इन्जिनियर काफ्लेले भन्नुभयो, बहुवर्षीय योजनाअन्तर्गत बन्ने निर्देशनालयको मुख्य भवन बनेपछि काम चलाउका लागि स्थानान्तरण गर्न मिल्छ ।

ताजा समाचार

Related Articles