विषयगत समितिको बैठक नौ महिनापछि बस्यो

लोकप्रिय

हेटौँडा, भदौ १९ गते ।
बागमती प्रदेश सभा गठन भएको नौ महिनापछि प्रदेश सभा अन्तर्गतका विषयगत समितिहरुको बैठक बसेको छ ।
गत पुसमा गठन भएको प्रदेश सभाको प्रदेश सभा अन्तर्गतका पाँच वटा विषयगत समितिको छुट्टाछुट्टै बैठक मङ्गलबार प्रदेश सभा सचिवालयमा बसेको हो ।
प्रदेश सभा अन्तर्गतको समितिहरुको पहिलो बैठकमा समितिको बैठक बस्नेलगायत गतिविधि सञ्चालन गर्न कार्यविधि निर्माण र विविध विषयमा छलफल भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
सार्वजनिक लेखा समितिको कार्यविधि बनाउन समिति सदस्य प्रभात तामाङको संयोजकत्वमा, अर्थ तथा विकास समितिको कार्यविधि बनाउन सदस्य डा.दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा र प्रदेश मामिला समितिको कार्यविधि बनाउन सदस्य राधिका तामाङको संयोजकत्वमा उपसमिति बनाउने समितिको बैठकले निर्णय गरेको छ । यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा उपसमिति गठन नगरी समितिबाट नै तयार गर्ने निर्णय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गुप्ताले बताउनुभयो ।
समितिको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, उपसभामुख अपसरा चापागाईँ खत्री, समितिको कार्य क्षेत्रमा पर्ने मन्त्रालयका मन्त्रीहरुकोसमेत सहभागिता रहेको थियो ।
विषयगत समितिहरुमा रहने प्रदेश सभा सदस्यहरुको नाम प्रदेश सभा बैठकबाट गत असारमा अनुमोदन भएको थियो । तर अझै समितिले सभापति पाउन सकेको छैन । समितिका सदस्यहरुमध्येबाट सभापति चयन गर्ने व्यवस्था रहेको छ ।
समितिको सभापति चयन नभएका कारण पहिलो बैठक समितिका जेष्ठ सदस्यको अध्यक्षतामा बसेको हो ।

ताजा समाचार

Related Articles