पत्रकारिता नागरिकलाई उत्साह दिने हुनुपर्छ

लोकप्रिय

हेटौँडा, भदौ २० गते ।
नेपाल पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष विपुल पोखरेलले अबको पत्रकारिता नागरिकलाई सकारात्मक काम र बाटोमा लाग्न अभिप्रेरित गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
उहाँले हत्या, हिंसा, तोडफोडलाई अभिप्रेरित गर्नेभन्दा रचनात्मक हुनुपर्ने भन्दै नागरिकलाई सकारात्मक काम र मार्गमा लाग्न उत्साह दिने, उत्प्रेरित र अभिप्रेरित गर्ने गरी पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासङ्घ मकवानपुर शाखाले हेटौँडामा बुधबार आयोजना गरेको फिचर सङ्गालो पुस्तक विमोचन तथा सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रका लागि तीनै तहको सरकारबाट सहयोगको अपेक्षा र आवश्यकता बताउँदै त्यो नीतिगत रुपमा हुनुपर्ने र पारदर्शी हुनुपर्ने बताउनुभयो । हाम्रो काम निर्भिकताका साथ कलम चलाउने हो उहाँले भन्नुभयो, पत्रकार महासङ्घ नागरिक संस्था पनि हो, समाजका समस्या समाधानमा सहजीकरण आवश्यक छ ।
उहाँले अगाडि भन्नुभयो, हाम्रो समाजका सबै संरचना स्खलित हुँदै गएका छन्, संरचना कमजोर भएको छ , कमजोर संरचनाबाट नागरिकले लोकतन्त्रको लाभ लिन सक्दैनन्, हामी आफैबाट सुधार आवश्यक छ ।
अध्यक्ष पोखरेलले आफै सुधार गर्न महासङ्घभित्र सुद्धिकरणको अभियान थालेको र यो निरन्तर चल्ने अभियान भएकोले यसबाट कसैले तर्सनु र आत्तिनु पर्दैन भन्दै पत्रकारको श्रमसम्बन्धी समस्या समाधानमा पत्रकार महासङ्घ लागेको बताउनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पत्रकारलाई विचारका आधारमा भन्दा स्वतन्त्र र निष्पक्ष रुपमा स्थानीय तह र समाजमा भएका बेथितिहरु उजागर गर्न आग्रह गर्नुभयो ।
पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, हेटौँडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नं. ४ का वडाध्यक्ष नविन सिग्देल र पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले पत्रकारिताको अवस्था र महासङ्घमा सदस्यता शुद्धिकरणका बारेमा बोल्नुभएको थियो । फिचर लेखन हेटौँडा उपमहानगरपालिकाको सहयोगमा र पत्रकार महासङ्घको कार्यालयका लागि प्रिन्टरलगायतका सामग्री मनहरी गाउँपालिकाले उपलब्ध गराएको हो ।

ताजा समाचार

Related Articles