तीन जिल्लामा सार्वजनिक बिदा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २२ गते ।
सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायको सांस्कृतिक पर्व छोनाम (न्वाँगी) का अवसरमा बागमती प्रदेशका तीन जिल्लामा आज शुक्रबार सार्वजनिक बिदा गरिएको छ । चेपाङ समुदायको बाहुल्य रहेको जिल्लामध्ये मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
बागमती प्रदेश सरकारले तीन वटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल चेपाङ सङ्घको आयोजनामा आगामी शुक्रबार गजुरी गाउँपालिका ५ स्थित च्याङ्लीमा चेपाङ समुदायले सामुहिक रुपमा पर्व मनाउँदै छन् ।
यस्तै मकवानपुर राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस पर्वमा चेपाङका पुरोहित पान्दे झाक्रीहरुले रातभर एक पाखे ढ्याङ्ग्रो ठोकेर मन्त्रोच्चारण गरेर नयाँ अन्न देवता र पितृलाई चढाउँदै आफूहरुले पनि खाने गर्छन् । छोनाम पर्वलाई चेपाङ जातिले दशैँ तिहारभन्दापनि ठूलो पर्वको रुपमा मनाउने गर्छन् ।
बागमती प्रदेश सरकारले यो पर्व मनाउन चेपाङ समुदायलाई सार्वजनिक बिदा गत वर्षदेखि दिँदै आएको छ ।
चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष एवं संविधान सभाका सदस्य गोविन्दराम चेपाङले न्वाँगी पर्वमा शुभकामना आदान प्रदानसँगै विधिपूर्वक पूजा र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउन तयारी गरेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles