धार्मिक केन्द्र बडीमालिका 

लोकप्रिय

डडेलधुरा, भदौ २२ गते।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका मन्दिर क्षेत्र चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ। मन्दिर पुग्दासम्म बाटोमा पर्ने विशाल फाँटहरु, आँखाले नियाल्न नसकिने आकर्षक खेत छन्। 

शब्दले सुन्दरताको व्याख्या जति गरे पनि अपूर्ण नै हुने बडीमालिका फाँटहरुका दृष्य हेर्दा जो कोहीलाई पनि लोभ्याउँछन्। जति हेरे पनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन। जति समय खर्चिएर घुमे पनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ। 

वारि दह, सोता दह, घोडे दह, भित्तोचिन्नेदेखि माथि वृक्षहरु छैनन्। टुन्ड्र वनस्पति, बुट्यान फूल फूलहरुले दह अर्थात पाटन र अग्ला गोलाकार डाडाहरु मनमोहक देखिन्छन। 

त्रिवेणी पाटन क्षेत्रसम्म नपुग्दा हिँड्नु पर्ने ठाडो उकालो र भीरको बाटोमा लामो श्वास फेर्न मिल्ने अवस्था नै हुन्न। बाजुरा सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल यात्रापछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुगिन्छ। करिब ३२ किलोमिटर बढी उकालो बाटोमा मेलाको समयमा भने करिब छ स्थानमा खाना, नास्ता पाउन सकिन्छ। अन्य समयमा भने आफैले खाना र खाजाको व्यवस्था पनि गर्नुपर्ने हुन्छ। छ वटै स्थानमा जस्ताको छानो बनाई काठका धर्मशाला निर्माण गरिए पनि व्यवस्थित बनाउन सकिएको छैन। 

प्रकृतिको आनन्दले त्रिवेणी पाटनमा केही समय वा घण्टा दुःख बिर्सिन्छ। त्रिवेणीबाट उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखित तुल्यान्छ।  

बडीमालिकामा प्राचीन कालदेखि नै हो भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन पूजाआजासहित मेला लाग्छ। बडीमालिकाको पूजाआजा सकेर नाटेश्वरी मन्दिरमा जैनै पूर्णिमाका दिन जनै र रक्षा धारणा गरेर कालिका मातालाई बोकाको बली दिएपछि मेला सकिन्छ। 

यही मितिबाट पूजा पाठ सुरु गरिएको भन्ने एकिन छैन। तर बाजुराका स्थानीय सुमेशर उपाध्यायको पालादेखि पूजापाठ हुँदै आएको आधिकारिक दस्तावेज छ। जो हालका पूजारी नेत्रराज उपाध्याय खलकको १४ पुस्ता अघिका पूर्खा हुनुहुन्छ। श्री साखे संवत १३४३ र १३४८ मा बडीमालिका मन्दिरको मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पूजारी हुने भन्ने प्रमाण छ। यो मिति हेर्दा पनि बडीमालिका क्षेत्रमा परापूर्वकालदेखि नै पूजापाठ हुँदै आएको भन्ने पुष्टि हुन्छ।

बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकास गर्न सके यहाँका स्थानीयले पूजाआजाका समाग्री मात्रै बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ। सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य बनेको छ। 

ताजा समाचार

Related Articles