काठमाडौँ महानगरले बजार अनुगमन

लोकप्रिय

काठमाडौँ, भदौ २३ गते ।

काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ ।

महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वास्थ्य पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमित रूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ । चालु आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा झाले जानकारी दिनुभयो । 

“जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ”, उहाँले भन्नुभयो ।

उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले  कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ । “पानी उत्पादक कम्पनीलाई पनि थाहा हुँदैन, उसको पानीको जार कहाँ छ त्यो पानी कसको हो भनेर”, विभाग प्रमुख डा झाले भन्नुभयो, “पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो । पानी आउने मुख्य नाकामा क्रमिक रूपमा अनुगमन गरिरहेका छौँ ।”

अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सीकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ अनुरूप अनुगमनलाई कडाइ गरिएको हो । निर्देशिकामा जार कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ । अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ । सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ ।

ताजा समाचार

Related Articles