समाजवाद कार्यान्वयनबाट वर्गसङ्घर्ष अन्त हुन्छ 

लोकप्रिय

काठमाडौँ, भदौ २३ गते ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक रूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताउनुभएको छ ।

पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताउनुभयो । समाजवाद कार्यान्वयनबाट नै वर्गसङ्घर्ष अन्त्य हुने उहाँको भनाइ थियो । 

अध्यक्ष नेपालले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापी रूपमा जनतालाई जानकारी गराउन आगामी असोज १४ देखि २९ गतेसम्ममा पार्टीले मेची–महाकाली अभियान गर्न लागेको जानकारी दिनुभयो ।

जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन एमालेसँग विद्रोह गरेको औचित्य पुष्टि भएको बताउँदै उहाँले पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सामाजिक रूपान्तरणका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोण ठिक रहेको बताउँदै कम्युनिस्ट पार्टीको मूलधारको नेतृत्व आफ्नो पार्टीले गर्ने उल्लेख गर्नुभयो । 

“नेतृत्व सही बाटोमा अघि बढ्न सके पार्टीभित्र लोकतान्त्रिक मूल्य, मान्यता स्थापित भई जनताको सामाजिक रूपान्तरण, देश विकासको चाहना पूरा हुने र समृद्धितर्फ पुग्न सकिन्छ”, उहाँले भन्नुभयो । पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता अध्यक्ष नेपालले व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष विष्णु लम्सालले समाजवादमा श्रमिक वर्गका हकहित, अधिकार सुरक्षित गर्न सकिने बताउनुभयो ।

ताजा समाचार

Related Articles