एचपीभी खोपको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोपको उद्घाटन गर्नुहुने भएको छ ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट यही भदौ २७ गते बुधबारबाट सुरु हुने खोप कार्यक्रमको उद्घाटन मन्त्री बस्नेतले गर्नुहुने कार्यक्रम रहेको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार एचपीभी खोप अस्पतालको ओपिडी भवनको तेस्रो तलाबाट सञ्चालन हुने छ  ।

कार्यक्रममा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरूलाई मात्र खोप दिने अस्पतालले जनाएको छ ।

उमेर खुल्ने प्रमाण लिई खोप लगाउन जान अस्पतालको आग्रह छ ।

सोही दिन सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशका कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेलधुरा अस्पतालबाट डेमोस्ट्रेसन गर्दै छ । 

सातै प्रदेशबाट करिब साढे नौ हजार किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

यो कार्यक्रमका लागि सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन सरकारको आग्रह छ ।

ताजा समाचार

Related Articles