बिपीले लिएको मेलमिलाको नीति उचित होः डा. भट्टराई

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते ।
नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तराष्ट्रिय राजनीतिमा उच्च स्थान र कुटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् ।
कांग्रेसले बिपीको ११०औं जन्मदिनको अवसरमा आइतबारबाट बीपीनगरमा आयोजित ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी’ विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘माक्र्स र गान्धिको बिचारबाट प्रभावित भएका बिपीको बिचारमा माक्र्सबाद र गान्धिको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ । बिपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन्।’
उहाँले बिपी अग्रगामी, लोकतान्त्रिक र समाजबादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले संकटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल आएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले बीपीले राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको भन्दै बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताउनुभयो ।
उहाँले नेपालमा दलहरुबीच कुर्सीमा बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बिपी भन्नुहुन्थ्यो।’
कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा.नारायण खड्काले बिपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित अनि अतुलनिय थियो भन्दै बीपी पट्नाबाट नेपाल आउँदा होस् वा राजाले प्रधानमन्त्रीबाट हटाउँदा बीपीको पक्षमा जनसमर्थन र अन्तर्राष्ट्रिय समर्थन कहिल्यै नदेखेको बताउनुभयो ।
डा. खड्काले भन्नुभयो, ‘राजा महेन्द्रले बिपीलाई अपदस्त गरेपछि संयु्क्त राष्ट्रसंघको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नोबेल प्राईज विजेताले विरोध गरेको घटना ऐतिहासिक छ ।’
डा. खड्काले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मागाई क्षतिपूर्ति गराएको घटना कुटनीतिक क्षेत्रको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
नेपालमा हालका राजनीतिक दल र नेताले परराष्ट्र क्षेत्रलाई प्राथमिकता नदिँदा, देशमा भ्रष्टाचारको इस्युमा वृद्धि भएको, भद्रगोल र अस्थिरता देखिँदा नेपालले अन्तराष्ट्रिय फोरममा आफ्नो भनाई राख्न नसकेको बताउनुभयो ।
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले चीनसँग सम्वन्ध राख्दा भारतबिरोधी र भारतसँग सम्वन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेख्नीय भएको बताउनुभयो ।
ज्ञवालीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई बिपीले अश्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बिपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले बिपीसँगको राजनीतिक लाईनमा समर्थन जनाउन नसकिए पनि कुटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्ने बताउनुभयो ।
कुटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बिपीले संयुक्त राष्ट्र संघको १५औं साधारण सभामा दिएको अभिव्यक्तिले बिपीलाई विश्व जगतमा चिनाएको बताउनुभयो । ‘बिपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकिसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकाशील राष्ट्रलाई सहयोग गर्नुपर्छ भनेर माग गर्नुभएको थियो’, उहाँले भन्नुभयो सो अभिव्यक्तिबाट बिपीको उचाई एक्कसी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो।
प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरुले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा बिपीले अस्विकार गर्नुभएको थियो ।
उहाँले नेहरुको दबाबलाई अस्विकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसितयमा आफ्नो कुटनीति र सम्वन्ध छिमेकीसँग राख्नसक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कुटनीतिक सम्वन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रुपमा लिने गरिन्छ भन्नुभयो ।
सो कार्यक्रममा सहजीकरण सुधिर शर्माले र कार्यक्रमको संयोजन पार्टी केन्द्रीय सदस्य नानु वास्तोला तथा श्रीवावु कार्की र अमृत ज्ञवलीले गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles