अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता हुने

लोकप्रिय

हेटौँडा, भदौ २८ गते ।

श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको आयोजनामा हेटौँडामा भोलिबाट प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिताको हुने भएको छ ।

विद्यालयले बिहीबार (आज) पत्रकार सम्मेलन गरेर भोली र पर्सी दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक नवीन केसीले राष्ट्रिय तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत गरि २० विद्यालयका करिब २ सय विद्यार्थीको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतियोगिता विश्व तेक्वान्दो महासङ्घको नियम अनुसार खेलाइने साथै कालो पेटी प्राप्त गरेका खेलाडीलाई सहभागी नगराइने राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष मदन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा एक खेलाडीले तेक्वान्दोको क्यारोगी (फाइट) र पुम्से कुनै एक वा दुवै विधामा सहभागिता जनाउन पाउने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै प्रतियोगिताकै क्रममा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा छात्राहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने बताइएको छ ।

केन्द्रका अध्यक्ष राम बिष्टले पछिल्लो समयमा बालिकामाथि यौनजन्य दुर्व्यवहार बढ्दै गएकोले प्रतिकारका लागि केन्द्रले आत्मरक्षा तालिम प्रदान गर्न लागेको बताउनुभयो । उहाँले अभियानकै रुपमा हरेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्ने उद्देश्य रहेको समेत जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख लाग्ने आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles