चिकित्सकमाथि कुटपिट प्रकरण: दोषीमाथि कारबाहीको माग

लोकप्रिय

हेटौँडा, भदौ २८ गते । 

हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गरिएको छ ।

अस्पतालभित्रै चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट गरिएको घटनाको छानबिनसँगै घटनामा संलग्न भएकामाथि कारबाही गर्न स्वास्थ्य सम्बद्ध संस्थाहरूले माग गरेका हुन् ।

नेपाल चिकित्सक सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले  चिकित्सकहरूमाथि भएको साङ्घातिक हमलाको निन्दा गर्दै बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकमाथि हातपात गर्ने कार्य अस्वाभाविक र अमानवीय भएको जनाएका छन् ।

नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिले आफ्ना आजीवन सदस्य चिकित्सक थापा र बिडारीमाथि आक्रमण गर्ने कार्यमा संलग्न भएकालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ कानुनी कारबाही गर्न माग नेपाल सरकारसँग गरेको छ ।

चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा दोषीको पहिचान गरी ७२ घण्टाभित्र कानुनी कारबाही नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने उल्लेख छ । साथै विज्ञप्तिमा यसबाट उत्पन्न हुने जुनसुकै स्थितिको जिम्मेवार नेपाल सरकार स्वयम् हुने उल्लेख छ ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ मकवानपुरले घटनामा संलग्न भएकामाथि तत्काल कारबाहीको मागसहित स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरूको सुरक्षाको माग गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले दोषीको पहिचान गरी कारबाहीको गर्नुको सट्टा यस्ता घटनामा कारबाही नगरी मिलापत्र गर्ने कार्यले समाजमा थप दण्डहीनता बढ्ने जनाएका छन् ।

गत साउन २२ गते सन्चो अस्पतालमा डेंगुरोगको लक्षण लिई उपचार गर्न सन्चो अस्पताल आएका हेटौँडा उपमहानगरपालिका–१२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि प्रेषण गरिएको थियो । चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्यु भएको थियो ।

प्रधानको मृत्यु डेंगु सङ्क्रमण भएको र पहिले जाँच गरेका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पदमपोखरीका एक समूहले कुटपिट गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको पुष्टि गर्नुभयो । घटनामा संलग्नलाई अझै नियन्त्रणमा लिइएको छैन । प्रहरीले भने कुटपिटमा संलग्नको खोजी र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles