शोक प्रस्ताव पारित

लोकप्रिय

काठमाडौँ, भदौ २८ गते ।

प्रतिनिधि सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्व नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । आजको बैठकमा स्व नेम्वाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

वि.सं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रिय सभा सदस्य, २०५६ सालमा प्रतिनिधि सभा सदस्य, २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । उहाँ २०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख  तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, २०५६ सालमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधान सभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । 

ताजा समाचार

Related Articles