नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

लोकप्रिय

काठमाडौँ, भदौ ३ गते ।

नेपालको निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको छ । साथै नेपालबाट ८० मुलुकमा हस्तकलाका वस्तुहरू निकासी हुने गरेको छ । 

‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू’ विषयक कार्यपत्र प्रस्तुति गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले नेपालले ८० मुलुकमा हस्तकलाको सामानहरू निर्यात गरिरहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । साथै उहाँले हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको समेत बताउनुभयो । 

वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र  समाधान’ छलफल  कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो छ भन्नुभयो । 

“हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ ।  यसमा परिवार, कृषक र महिलासँग जोडिएको छ । गाउँ, समुदायमा नै गर्न सम्भव भएकाले यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा रहेको छ”, सचिव मरासिनीले भन्नुभयो । 

उहाँले हस्तकला क्षेत्रमा नेपाली कालिगढको अभाव हुनुको कारण खोज्नु आवश्यक रहेको जनाउँदै   यसलाई महासङ्घले ध्यान दिएर प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीहरूलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सृजना गर्नका लागि माथि उकास्न आवश्यक पर्ने सहुलियत र सुविधा दिनुपर्ने बताउनुभयो । 

“हस्तकला क्षेत्रमा विकासका लागि कसले के गर्ने हो भन्ने खालका नीति तथा रणनीतिहरू तय गरिनुपर्छ । समस्याहरू धेरै छन्, विद्यमान समस्या र समाधानका उपायहरूका विषयमा हस्तकला महासङ्घले सुरु गरेको काम महत्वपूर्ण छ, आन्तरिक र बाह्य समस्याहरू के के हुन् भनेर पहिचान गर्नुपर्ने र उद्यमी र व्यापारीहरू छुट्याएर समस्या समाधान गर्न लाग्नुपर्ने अवस्था छ,” निर्देशक राणाले भन्नुभयो । उहाँले हस्तकला वस्तुको निकासीका लागि पारवहन र ढुवानीका समस्या समाधान गर्नाका साथै बजारहरूको खोजी गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल बैङ्क लिमिटेड कर्जा विभागका वरिष्ठ प्रबन्धक कृष्णबहादुर कार्कीले निकासीसँग सम्बन्धित व्यवसायलाई नेपाल बैंकले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको बताउनुभयो । उहाँले व्यवसायीहरूको व्यापारिक सोचलाई उद्योगमा लैजानका लागि स्टार्ट अप बिजनेसदेखि नै सहयोग गर्ने बताउनुभयो । ‘

नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्नुहुँदै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गर्नुभयो । 

ताजा समाचार

Related Articles