सहमति र सहकार्य गरी अघि बढ्नुपर्छ

लोकप्रिय

विराटनगर, असोज ३ गते । 

कोशी प्रदेश सरकारले नवौँ संविधान दिवस विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ ।

कार्यक्रममा बोल्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीमा सङ्घीयता प्रति नै वितृष्णा पैदा भएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले जनतामा देखिएको निराशा र व्यवस्था माथिकै चुनौतीलाई सामना गर्न सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँलयाउनुभएको छ । 

उहाँले अहिलेको विषम परिस्थितिमा जनभावनालाई बुझेर अघि बढ्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरू, जनप्रतिनिधिहरू, राष्ट्र सेवक कर्मचारीहरू, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरू एक जुट भएर साझा चुनौतीहरूलाई अवसरमा परिणत गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।

सबै जनप्रतिनिधि मूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य मान्यताहरू कार्यान्वयन गर्न संविधान दिवसले प्रेरणा दिने उहाँले अपेक्षा राख्नुभयो ।

नेपालको  संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभएर राज्यको संरचना, शासकीय व्यवस्था, सामाजिक, सांस्कृतिक रूपान्तरणको आधार स्तम्भ पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अभिवक्ता तथा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles