मनै लोभ्याउने फुङफुङ्गे झरना

लोकप्रिय

फुङ्लिङ, असोज ४ गते ।

फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वन जङ्गल रहेकाे छ ।

पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ ।

ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । 

यसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङफुङ्गे झरनालाई पनि एक हो । झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा आउन थालेका छन् । सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ । स्थानीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका–४ का होमस्टे (घरबास) सञ्चालक विजय साँवाले बताउनुभयो ।

केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँ अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको साँवाले बताउनुभयो । बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादनले पनि राम्रो बजार पाउन थालेको छ  । झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो । 

फुङ्फुङ्गे झरना ताप्लेजुङको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रका लागि तीन तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएका छ ।  झरनालाई सौन्दर्यीकरण गर्नका लागि चालु आवमा सङ्घीय सरकारबाट रु एक करोड बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताउनुभयो । 

ताजा समाचार

Related Articles