राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक

लोकप्रिय

बेइजिङ, असोज ७ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताउनुभएको छ ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्दपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास आफूले लिएको बताउनुभयो ।

नेपाल-चीन बीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उहाँले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताउनुभयो ।

यस पटक आफूले संयुक्त राष्ट्रसङ्घीय महासभामा नयाँ तथा फरक मुद्दा उठाएको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया नयाँ र फरक प्रकृतिको रहेको र यससम्बन्धी सङ्क्रमणकालीन न्यायका कतिपय काम टुङ्ग्याउनुपर्ने कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई भनेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण नेपाल–चीन सम्बन्धका विविध आयामहरूलाई थप प्रगाढ बनाउने कार्यमा केन्द्रित रहेको भन्दै आगामी दिनमा सहयोग र समझदारीका क्षेत्रहरू बढ्ने तथा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

यो पटक आर्थिक विकास र समृद्धितर्फ देशलाई अगाडि लैजाने बाचासहित आफू प्रधानमन्त्री भएको प्रसङ्ग उल्लेख गर्दै सोहीबमोजिम वर्तमान सरकारले काम अगाडि बढाएको र परिणाम पनि देखा परिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

त्यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles