मधेशको अन्न र पहाडको पानीले देशलाई समृद्ध बनाउन सकिन्छ 

लोकप्रिय

जनकपुरधाम, असोज ८ गते ।

 राष्ट्रपति रामचन्द्र पौडेलले जनताको ठूलो बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ हुन नहुने आवश्यकतामा जोड दिनु भएको छ ।

राष्ट्रपति पौडेलले उहाँको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले आज जनकपुरधामको नव निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै निजामती ऐन तथा प्रहरी ऐन चाँडो ल्याउनका लागि दलका शीर्ष नेताहरूसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले नेपालको राजकीय सत्तामा सबै नेपालीको समान सहभागिताले मात्र मुलुक स्थिरता तथा समृद्धिको बाटोमा जाने प्रति आफू विश्वस्त रहेकाले त्यसका लागि सधैँ आफूले पहिला देखि नै मधेश आन्दोलनको क्रममा मधेशी जनताको मागको सम्बोधन गराउने काम गरेको स्मरण गराउनु भयो ।

उहाँले मधेशको अन्न उत्पादन तथा पहाडको पानीको उचित प्रयोगले मुलुकलाई चाडै समृद्धिको मार्गमा लान सक्ने भएकाले नै सुनकोसी कमला मरिन डाइभर्सनको कुरा आफू कृषिमन्त्री भएकै बेलामा योजना बढाएको र अहिले कार्यान्वयनको चरणमा गएकाले खुशी व्यक्त गर्नु भयो ।

राष्ट्रपति पौडेलले न्याय, वैशेषिक, साख्य, मिमासा जस्ता गहन दर्शनको प्रतिवादन तथा अष्टावक्र, महागीता, वेदारण्य, उपनिषद् जस्ता ग्रन्थको विषयमा विमर्श हुने यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्रपतिको पद भएकाले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको बताउनु भयो ।

नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताउनु भयो । उहाँले प्रहरी तथा निजामती विनाको प्रदेशको कल्पना गर्न नसकिने बताउँदै मधेश प्रदेशको विकासको अवरोधक नै यी दुई विधेयक पारित नहुनु रहेको दाबी गर्नु भयो ।  

धनुषा निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभाका सदस्य एवं नेकपा एमालेका नेत्री जुली कुमारी महतोले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि पहल गरिन दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गर्नु भयो ।  

सभापतिको आसनबाट नागरिक अभिनन्दन पत्र वाचन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मधेशका शुभचिन्तक राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाम बासीको तर्फबाट नागरिक अभिनन्दन  गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले राष्ट्रपति पौडेललाई उपहार प्रदान गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles