महेन्द्रनारायण निधि मिथिला संस्कृति सभा हलको उद्घाटन

लोकप्रिय

जनकपुरधाम, असोज ८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा शहरी विकास मन्त्रालयले निर्माण गरेको महेन्द्रनारायण निधि मिथिला संस्कृति सभा हलको आज उद्घाटन गर्नु भएको छ ।

शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले जनकपुरधामको वडा नंं ४ तिरहुतियागाछीमा बनेको महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनको उद्घाटन गर्नु भएसँगै सभा हलको सञ्चालन शुरु भएको छ ।

कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक नगरीको रुपमा विकास गर्ने गरि शहरी विकास मन्त्रालयले विभिन्न विकास निर्माणको कामकाज अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्षौँ पुराना योजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै यसले जनकपुरधाममा सभा हलको अभावको समस्या समाधान गर्ने आशा व्यक्त गर्नुभयो ।

शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले प्रत्येक प्रदेशको राजधानीमा सभाहल निर्माण गर्ने सरकारको नीति अनुसार नै जनकपुरधाममा महेन्द्रनारायण निधि मिथिला संस्कृति सभा हलको निर्माण ढिलो भएपनि सम्पन्न भएको बताउनु भयो ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय संघीय कार्यान्वयन इकाई धनुषाको रेखदेखमा २०५७ साल देखि विभिन्न चरणमा निर्माण थालिएको सो भवनको कूल लागत १२ करोड २४ लाख ७९ हजार ३४० रुपैयाँ (भ्याटबाहेक) खर्च भएको कार्यालयका प्रमुख प्रदीप खनालले जानकारी दिनुभयो ।

कूल ६ सय सिट क्षमता भएको उक्त भवनको निर्माणपछि जनकपुरधाममा सरकारी सुविधा सम्पन्न सभा हलको अभावको अन्त्य भएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले बताउनु भयो ।

करिब २ विघा १५ कठा क्षेत्रफलमा फैलिएको संस्कृति केन्द्र परिसरभित्र पुस्तकालय भवन, सङ्ग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, दुई सय क्षमताको कन्फ्रेन्स हल पनि रहेको छ ।

ताजा समाचार

Related Articles