सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग

लोकप्रिय

तनहुँ, असोज ८ गते ।

तनहुँको एक सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको सहजताका लागि सूर्य नेपाल प्रा.लि.ले ‘स्कुल बस’ सहयोग गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा रहेको  सूर्य नेपाल प्रालिले सोही वडाको खैरेनीटारमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई एक थान बस सोमबार हस्तान्तरण गरेको हो । 

विद्यालयमा आयोजना गरिएको स्कुल बस ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.लि.का प्रमुख बाबुराम कार्कीले विद्यालयलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बस उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रा.लि.ले उपलब्ध गराएको बसको व्यवस्थापन र मर्मत विद्यालयले गर्नेछ ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्क सिं थापाले विद्यालयमा विद्यार्थी आकर्षण गर्न पर्याप्त पूर्वाधारको विकास भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । वडाध्यक्ष थापाले बस प्राप्त गरेसँगै अन्य विद्यालयसँग प्रतिस्पर्धा गरेर विद्यार्थी आकर्षण गर्नुका साथै शैक्षिक प्रगति गर्ने अपेक्षा राखेको बताउनुभयो । 

प्रा.लि.का मानव संसाधन शाखाका प्रमुख अञ्जन दवाडीले सहयोग स्वरूप प्रदान गरिएको बस शैक्षिक गुणस्तर कायम गर्न सहयोगी बन्ने विश्वास व्यक्त बताउनुभयो । तनहुँको शुक्लागण्डकी र म्याग्दे गाउँपालिकाको सामाजिक विकास क्षेत्रमा सूर्य नेपाल प्रा.लि.ले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ । प्रा.लि.काले विशेष गरि शिक्षा र  स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । 

खैरेनीटार र आसपासका तीनसय बढी विद्यार्थी यस विद्यालयमा अध्ययनरत रहको विद्यालयका प्रधानाध्यापक नारायण पौडेल जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles