आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ 

लोकप्रिय

काठमाडौँ, असोज ९ गते ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताउनुभएको छ । 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मङ्गलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवम् कार्यशालाको उद्घाटन समारोहमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफ भन्दा आफूलाई ठोस् कार्ययोजना चाहिएको बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन् । ठोस् कार्ययोजना लिएर आउनु पर्‍यो । त्यसमा मेरो सहयोग रहन्छ ।’’

जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुने बताउनुहुँदै मन्त्री बस्नेतले साइड इफेक्ट नहुने आयुर्वेदिक औषधिको पहूच बढाउनु पर्नेमा जोड दिनुभयो । आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नु पर्ने अवस्थाको अन्त गर्नका लागि आयुर्वेदको क्षेत्रका विज्ञहरूले कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउनुहुँदै मन्त्री बस्नेतले पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको दाबी गर्नुभयो । स्वास्थ्य बिमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको स्मरण गर्नुहुँदै स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पतालहरूलाई दिनुपर्ने शोधभर्ना दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले औषधि विहीन थेरापीको रूपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउनुहुँदै पञ्चकर्मले दुखाई सम्बन्धी धेरैजसो रोगहरूको उपचार गर्न सकिने दाबी गर्नुभयो । डा. यादवले तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउनुहुँदै उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासका लागि काम गरिरहेको जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles