सरकारको ध्यान देश बनाउनेमा हुनुपर्छ 

लोकप्रिय

काठमाडौँ, असोज ९ गते ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएपछि जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सत्ता टिकाउने कामभन्दा देश र जनताको पक्षमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएको पनि बताउनुभयो । २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि चिन्ता लागेको बताउनुभयो । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसको सुधार गर्ने क्षमता नरहेको उहाँले टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन । सिटामल खाएर काम लाग्ने स्थिति छैन । यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हटने स्थिति छैन ।’ हामी जसरी आधुनिकीकरणतर्फ जानुपर्ने, जस्तो नयाँ नेपालतर्फ जानुपर्ने त्यसरी काम हुन नसकेको उहाँको भनाइ छ । 

“उत्पादन बढाउने बाहेक त अर्को कुनै उपाय नै छैन । हरेक ठाउँमा उत्पादन वृद्धि गर्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो, “प्रतिपक्षीमा हुँदा मात्रै यस्ता कार्यक्रम गर्ने होइन, सत्तामा हुँदा पनि गर्नुपर्छ भनेर म स्मरण गराउन चाहन्छु । म प्रधानमन्त्री हुँदा यस्ता कार्यक्रम उद्यमी, व्यवसायीका संघ, संस्थादेखि लिएर उद्योगी, व्यवसायीहरुसँग पटक पटक अन्तरक्रिया कार्यक्रम गरेको छु ।” 

अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने बताउनुभयो । त्यसैगरी उहाँले चर्को ब्याजदर व्यवसायीलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराउनुभयो ।

ताजा समाचार

Related Articles