राहत शिक्षक अनुपस्थितिप्रति गुनासो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज १० गते
शिक्षकको आन्दोलनका कारण विद्यार्थीको अध्यापन प्रभावित भएको भन्दै अभिभावक र विद्यालय व्यवस्थापन समितिले गुनासो गर्न थालेका छन् ।
काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका राहत शिक्षकहरुले बुधबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । राहत शिक्षकमा गएका कारण विद्यालयको पढाइ प्रभावित भएसँगै अभिभावक र विद्यालय व्यवस्थापन समितिले स्थानीय तहमा गुनासो गर्न थालेका हुन् ।
नेपाल शिक्षक महासङ्घले विभिन्न मागहरु राखेर गरेको काठमाडौँ केन्द्रित आन्दोलनका कारण गत बिहीबार र शुक्रबार सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको थियो । सरकार र शिक्षक महासङ्घबिच छ बुँदे सहमतिपछि अधिकांश साधारण शिक्षक जिल्ला फर्किएर पठानपाठन सुरु गरेपनि राहत शिक्षक, बालविकासका शिक्षकलगायत विद्यालय कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका कारण अझै सामुदायिक विद्यालयका पठन पाठन प्रभावित बनेको छ ।
राहत शिक्षकलगायतले सरकार र शिक्षक महासङ्घबिच भएको सहमतिमा आफूहरुलाई धोका भएको र आफ्ना मागहरु पूरा नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राखेपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।
मकवानपुरको कैलाश गाउँपालिकाको शिक्षा शाखाका प्रमुख दीपेन्द्र अधिकारीले साधारण शिक्षकहरु सम्झौतापछि विद्यालय फर्किएपनि राहत शिक्षक विद्यालय नआएपछि विद्यालयबाट गुनासो आएको जानकारी दिनुभयो । उहाँले राहत शिक्षक भएका केही विद्यालयहरुबाट शिक्षक नआएको भन्दै गुनासो गरेको र पठनपाठनमा शिक्षक अभावमा समस्या भएको बताउनुभयो ।
थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख सूर्यबहादुर थिङले राहत शिक्षक विद्यालय नआउँदा पठनपाठनमा समस्या आउने भएपनि अझै कतैबाट गुनासो भने नआएको बताउनुभयो ।
उहाँले सबै विद्यालय सञ्चालनमा रहेको भन्दै राहत शिक्षक आन्दोलनमा रहेका कारण कुन कुन विद्यालयमा समस्या छ भन्ने जानकारी नआएको बताउनुभयो ।
यस्तै हेटौँडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख गङ्गाधर रिमाल रातह शिक्षक नआएका कारण विद्यालयमा पढाइ रोकिएको भन्ने जानकारी नआएकोले सबै विद्यालयमा पठन पाठन सुचारु नै छ भन्ने मान्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।
मकवानपुरमा जिल्लामा प्राथमिक विद्यालय तहका ४८१, निमावि तहका २८० र मावि तहका १४५ गरी ९०६ जना राहत शिक्षक रहेका छन् ।
नेपाल शिक्षक सङ्घ मकवानपुरमा अध्यक्ष गणेश हुमागाईँ राहत शिक्षक अझै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको बताउँदै मकवानपुरमा राहत शिक्षकसमेत आन्दोलनमा सहभागी रहेको बताउनुहुन्छ ।
शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका अनुसार जिल्लामा सामुदायिक विद्यालयमा ८४ हजार ८८३ र संस्थागत विद्यालयमा २८ हजार ७६८ गरी एक लाख १३ ६९१ जना विद्यार्थी अध्ययनरत छन् ।
जिल्लामा साधारण शिक्षक प्रावि तहको एक हजार ४३८, निमाविका १८५ र मावि तहको १४६ दरवन्दी रहेको छ ।
संस्थागत विद्यालयमा एक हजार दुई सय शिक्षक अध्यापनरत रहेको जनाइएको छ ।
शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले राहत शिक्षकलगायतका काठमाडौँ केन्द्रित आन्दोलनमा रहेकोले उनीहरु अनुपस्थित रहँदा पठनपाठन प्रभावित हुनु स्वाभाविक भएको बताउनुभयो ।
कैलाश गाउँपालिकामा मात्र प्रावि तहमा २६, निमावि तहमा सात र मावि तह दुई जना रातह शिक्षक रहेका छन् ।
संविधानले माध्यामिक शिक्षा व्यवस्थापन स्थानीय तहलाई दिएको छ । तर पालिकाहरुले विद्यालयमा सबै कक्षा पठन पाठन भईरहेको छ छैन अनुगमन नगरेको र नगर्ने गरेको पाइएको छ ।
राहत शिक्षकलगायतको आन्दोलन चलिरँहदा पालिकाहरु मातहत रहेका शिक्षा शाखाले समेत विद्यालयमा पठनपाठनको अवस्थाको बारेमा अनुगमन नगर्दा विद्यालयमा पठन पाठन के केति प्रभावित भएको छ भन्ने यकिन हुन नसकेको हो । शिक्षक महासङ्घ र सरकारबिच सम्झौतापछि अधिकांश साधारण शिक्षक आइतबारबाट विद्यालय फकिएपनि नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा भईरहेको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सोमबारसम्म पनि अधिकांश राहत शिक्षकलगायत विद्यालय फर्किएका छैनन् ।
उता अभिभावक वा विद्यालय व्यवस्थापन समितिको गुनासोलाई पालिकाको शिक्षा शाखाले आधार विद्यालयमा पढाइलाई आधार बनाउने गरेको देखिएको छ ।
थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख सूर्यबहादुर थिङ र कैलाश गाउँपालिकाका शिक्षा शाखाका प्रमुख दीपेन्द्र अधिकारी राहत शिक्षक आन्दोलनमा सहभागी भईरहेको समयमा पालिकाभित्रका कुन कुन विद्यालयको पठन पाठन के कति प्रभावित भएको छ अहिले अनुगमन भने नगरिहेको बताउनुहुन्छ ।
यसैगरी हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले समेत पालिकाभित्रका विद्यालयहरुमा शिक्षकको उपस्थितिको बारेमा अनुगमन नगरेको पाइएको छ ।
राहत शिक्षकलगायतले विभिन्न माग राख्दै माग पूरा नभएसम्म आन्दोलनले निरन्तरता पाउने जनाउँदै आएका छन् ।

ताजा समाचार

Related Articles