जलवायु परिवर्तनले जलविद्युत् आयोजना जोखिममा

लोकप्रिय

हेटौँडा, असोज १३ गते ।
पछिल्लो समय तीव्र रुपमा भएको जलवायु परिवर्तनले जलविद्युत् आयोजनाहरु जोखिममा पर्ने भएको छ ।
प्रकृति रिसोर्सेस् सेन्टर र विश्व वन्यजन्तु कोष नेपालले शुक्रबार हेटौँडामा आयोजना गरेको बागमती प्रदेशस्तरीय उर्जा संवाद कार्यक्रममा जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनाहरुमा चुनौती थपिएको बताइएको हो ।
जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खालगायतका विपत्सँगै तापक्रममा वृद्धि, वर्षाको दरमा कमी, नेपालका जलविद्युत् आयोजनाको पानीको मूल श्रोत हिमालहरु पग्लदै जानु र हिमताल विष्फोटलगायतका कारण जलविद्युत् आयोजनाहरु सबैभन्दा जोखिममा परेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । जलवायु परिवर्तनले वर्षामा कमी र हिमालबाट आउने पानीको श्रोतमा कमी मात्र होइन हावाको वहावमा समेत परिवर्तन आउँदा वायुबाट उत्पादन हुने उर्जासमेत प्रभावित हुने चुनौती थपिएको कार्यक्रमका वक्ताहरुले वताएका थिए ।
कार्यक्रममा सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था नेपाल (आइसेट—नेपाल) का वरिष्ठ अनुसनधानकर्ता जलवायु परिवर्तनका कारण पानी पर्ने दरमा कमी आएको र हिमताल विष्फोटको जोखिम बढेको भन्दै स्वच्छ उर्जाका लागि जलविद्युत् आयोजनामा मात्र निर्भर नभई वायु र सोर्य उर्जा उत्पादनलाई समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले एउटै नदीमा धेरै जलविद्युत् योजनाहरु निर्माण प्राकृतिक प्रकोपलगायतका कारणले थप जोखिमपूर्ण रहेको धारण व्यक्त गर्दै जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका मिथुन पौडेलले जलवायु परिवर्तनका कारण बाढी पहिरोको जोखिम बढेसँगै जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पछिल्लो समय आएको बाढी पहिरोले सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा छ अर्बको क्षति पुगेको र निर्माणधीन २० वटा आयोजनामा क्षति भएको बताउनुभयो । नेपालको पूर्वी क्षेत्रमा यो वर्ष आएको बाढी पहिरोले जलविद्युत् आयोजना रहेको भूगोलनै काम नलाग्ने गरी क्षति पु¥याएको भन्दै उहाँले विकास र वातावरणलाई सन्तुलित बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशको उर्जा, खानेपानी तथा सिँचाई मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख रविन श्रेष्ठले खनिज इन्धनले अन्ततः वातावरणमा प्रभाव पार्ने भन्दै नवीकरणीय र स्वच्छ उर्जामा जानुको विकल्प नरहेको बताउनुभयो । उहाँले प्रदेशको उर्जा सम्बन्धी नीति ल्याउने तयारीमा रहेको बताउँदै तीन मेगावाटदेखि २० मेगावाटसम्मको जलविद्युत् आयोजना प्रदेश मातहत आउने भनेपनि अझै कार्यान्वयनमा नआएको बताउनुभयो ।
प्रकृति रिसोर्सेस् सेन्टरका कार्यक्रम निर्देशक पैविनमान सिंहले उर्जा क्षेत्र आफैमा जोखिमपूर्ण क्षेत्र भएको चर्चा गर्दै उर्जाको वितरण र उपयोग न्यायोचित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दिगो संस्थाका गौरवराज पाण्डे, विश्व वन्यजन्तु कोष नेपालका आतरी खड्गी, प्रशान्त खनाललगायतले जलवायु परिवर्तनबाट हुने नकारात्मक प्रभाव रोक्न कार्बनरहित यातायात व्यवस्थासँगै विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।

ताजा समाचार

Related Articles