ज्येष्ठ नागरिकको सीप र अनुभवको पुस्तान्तरण आवश्यक 

लोकप्रिय

काठमाडौँ, असोज १४ गते । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ । 

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताउनुभयो । 

उहाँले ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशीलताले नै हामीलाई मानव सभ्यताको यो अवस्थामा ल्याई पुर्‍याएको स्पष्ट पार्नुभयो ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरू वर्तमान पुस्ताको बोझ नभई आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउनुपर्ने बताउनुभयो । 

उहाँले ज्येष्ठ नागरिकमा हुने एक्लोपन हटाउन तथा तेस्रो पुस्तामा ज्येष्ठ नागरिकहरूप्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । 

मन्त्री आचार्यले भन्नुभयो, ‘‘लामो अवधि कुनै न कुनै रूपमा सक्रिय रही अथाह ज्ञान आर्जन गर्नुभएका ज्येष्ठ नागरिक खुला पुस्तकको रूपमा नै हुनुहुन्छ । ज्येष्ठ नागरिकहरूमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञान देखि दैनिक जीवनका उपभोग्य सामग्री तयार गर्न व्यावहारिक ज्ञानको भण्डार छ । ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक छ। यस विषयमा समेत ध्यान दिन जरुरी छ ।’

मन्त्री आचार्यले हाम्रो संस्कृतिले मानेको मातृदेवो भव पितृदेव भवको आदर्शलाई आत्मसात् गर्दै ज्येष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो । 

ताजा समाचार

Related Articles