पोखरामा ड्रागन फ्रुट उत्पादन

लोकप्रिय

पोखरा, असोज १५ गते । 

पोखरामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गर्न सुरु गरिएको छ ।

पुनः समाज पोखराको व्यवस्थापनमा पोखराको रामघाट क्षेत्रमा विगत साँढे दुई वर्षदेखि ड्रागन फ्रुट खेती गर्न सुरु गरिएको पुन समाज नेपालका संस्थापक तथा उक्त ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताउनुभयो ।

२०७७ सालबाट सुरु भएको ड्रागन फ्रुट १६ महिनादेखि फल्न, उत्पादन हुन थालेको उहाँले बताउनुभयो । गाइभैंसीको मलसहित नितान्त अर्ग्यानिक रुपमा उत्पादित रातो ड्रागन फ्रुटका लागि बजारको कुनै समस्या नभएको उहाँको भनाइ छ ।

अघिल्लो वर्षमा करिब ३ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको समाजले यस वर्ष झण्डै १० लाखसम्मको ड्रागन फ्रुट बिक्री गर्ने लक्ष्य राखेको छ ।

चौथो पटक समाजले ३ सय ३४ केजी ड्रागन फ्रुट उत्पादन गरेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमपट्टि सेती नदीनजिक रामघाट क्षेत्रको ६ रोपनी जमिनमा उक्त ड्रागन फ्रुटको व्यावसायिक रुपमा खेती भएको हो । फोहोर फाल्ने डम्पिङ साइडजस्तो, झाडीले ढाकिएको क्षेत्रमा आफूहरूले धेरै मेहनत गरी ड्रागन फ्रुट खेत गरेको समाजका कोषाध्यक्ष शेरबहादुर पहरे पुनले बताउनुभयो ।

४३ जनाको प्रतिव्यक्ति एक लाखको दरले ४३ लाखकै बीउ पुँजीबाट सुरु भएको अभियानमा हालसम्म करिब ३७ लाख खर्च भएको समाजले जनाएको छ । उक्त फार्ममा हाल ५ सय वटा पिल्लरमा २ हजार ड्रागन फ्रुटका बिरुवा रोपिएका छन् । प्रति पिल्लर नजिक ४ वटा बिरुवा छन् । चितवनको गंगा श्री बहुउद्देश्यीय फार्म भरतपुरबाट बिरुवा खरिद गरी व्यवसाय सुरु गरिएको अध्यक्ष पुनले बताउनुभयो । उक्त ड्रागन फ्रुड राति फुल्ने हुँदा यसलाई ‘रातको रानी’ समेत भन्ने गरिन्छ ।

हाल समाजले फार्मबाटै प्रति केजी ७ सयमा ड्रागन फ्रुट बिक्री गर्दै आएको छ । यो बजार मूल्य भन्दा केही सहुलियतमा छ भने यहाँको बढी गुणस्तरको भएको समाजले दाबी गरेको छ । स्वास्थ्यका दृष्टिले निकै लाभदायी, बालबालिकादेखि ज्येष्ठ नागरिकलाई खान सहज हुने समाजले जनाएको छ ।

ताजा समाचार

Related Articles