प्रदेश सभाको एम्बुलेन्स हेटौँडा अस्पताललाई प्रदान

लोकप्रिय

हेटौँडा, असोज १७ गते ।
बागमती प्रदेश सभाले प्रदेश सभा सदस्यहरुको प्रयोजनका लागि खरिद गरेको एम्बुलेन्स हेटौँडा अस्पतालले सञ्चालन गर्न प्रदान गरेको छ ।
प्रदेश सभा भवन परिसरमा थन्किएर बसेपछि अस्पताललाई एम्बुलेन्स खर्च आफैले गर्ने र आम्दानी पनि आफैले गर्ने गरी अस्पताललाई प्रदान गरिएको हो ।
प्रदेश सभाको बैठक र प्रदेश सभा अन्तर्गतका विषगत समितिहरुको बैठक बस्दा प्रदेश सभा सचिवालयमा ल्याउने गरी प्रदेश सभा सचिवालय र अस्पतालबिच बुधबार सञ्चालन सम्झौतासहित सुविधा सम्पन्न एम्बुलेन्स अस्पतालाई सञ्चालनका लागि प्रदान गरिएको छ ।
प्रदेश सभा सचिवालयमा थन्क्याएर राख्दा टुटफुटलगायतका समस्या आउने भएपछि शर्तसहित अस्पताललाई प्रदान गरिएको प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
सम्झौतापछि एम्बुलेन्सको चालक, इन्धन, मर्मतलगायतका खर्च अस्पताललेनै बेहोर्ने गरी सम्झौता गरिएको भन्दै सचिवालय सचिव दर्जीले प्रदेश सभा सदस्य बिरामी भई हेटौँडाभित्रका अस्पतालमा लैजाँदा निःशुल्क र हेटौँडा भन्दा बाहिर उपचारका लागि लैजानु पर्दा चालक भत्ता र इन्धन खर्च बिरामीले बेहोर्ने सम्झौता भएको बताउनुभयो ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा प्रदेश सभा सचिवालयका सचिव दर्जी र हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाबिच एम्बुलेन्स सञ्चालन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ताजा समाचार

Related Articles