प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय

हेटौँडा, असोज १७ गते ।

दुई दिनदेखि अवरुद्ध बनेको बागमती प्रदेश सभाको बैठक एउटा विधेयक समितिमा पठाएर अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा दफावार छलफलका लागि पठाएर बुधबार बसेको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
यसअघि दुई पटक सूचना टाँस गरेर स्थगित गरिएका प्रदेश सभाको बुधबारको बैठकमा संस्कृति, पर्यटन र सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा दफावार छलफलका लागि पठाउन पेस गर्नुभएकोमा बैठकले उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाउन स्वीकृति प्रदान गरेको हो ।
विधेयक समितिमा पठाउन बैठकले स्वीकृति प्रदान गरेसँगै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले अब प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको भन्दै सभामा जानकारी गराउनुभएको थियो ।
यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश सभा बैठकमा अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएकोमा पछि सूचना टाँस गरेर मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
मङ्गलबार पनि दलहरुबिच बैठक बस्ने बारेमा सहमति जुट्न नसकेपछि पुनः बुधबार दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो ।

ताजा समाचार

Related Articles