जनकपुरधाम, असोज १८ गते ।
मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना सहित मनाइने महान् पर्व जितिया पर्व आजबाट शुरु भएको छ ।
मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा जितिया गर्ने महिलाहरूले आज नहा खा अर्थात् नुहाएर खाने विधि गरेपछि जितिया पर्व शुरु भएको छ । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा स्नान गरेर नदी तथा पोखरीको घाटमा नै झिउनी, घिरौला तथा कतिपय ठाउँमा बासको पातमा भगवान् जिमुतवाहन तथा दिवङ्गत सासू सहित मातगणलाई तेल खरी (पिना) चढाएर श्रद्धाभाव प्रकट गरेका छन् ।
यसपछि व्रती घर पुगेर पुनः केराको पातमा पुरी, दही, मिष्ठान्न, केला, कतिपय ठाउँमा चिउरा, दही जिमुतवाहन सहित दिवङ्गत मातृहरूलाई अर्पण गर्ने चलन रहेको छ । जिमुतवाहनलाई अर्पण गरेको प्रसाद परिवारका सबै सदस्यहरुले खाने गर्दछन् भने ससुराली पक्षका दिवङ्गत मातृलाई चढाएको प्रसाद अरू गोत्र भएकालाई दिने चलन रहेको छ ।
जितिया पर्वका व्रतीले भोली अबेर राति बिहान ओठगन गरेर ४ बजेदेखि उपवास बसी पर्सी १० बजे व्रतको समापन गर्ने योग रहेको जनकपुरधाम वडा नंं ८ का पण्डित मदन झाले जानकारी दिनु भएको छ ।
जितिया पर्व निक्कै कठोर रहने भएकाले यसमा व्रतीले जल पनि पिउने गरेका छैनन् । यस पर्वमा खरको तिनका पनि भाँचेको खण्डमा व्रत खण्डित हुने मान्यता रहेकाले व्रतीहरूले निक्कै सावधानीपूर्वक व्रत बस्ने र समापन गर्ने गरेका छन् ।
जितिया पर्वका सासू नभएका व्रतीहरू आज बिहान देखि जनकपुरधामको पवित्र धार्मिक पोखरीहरू गंगासागर, धनुषसागर, रत्नसागर, दशरथ तलाउँ, विहार कुण्ड, अग्निकुण्ड, रत्नसागर, दुग्धमति, धनुषाको कमला, विगही सहितका नदीहरूमा स्नान तथा पूजापाठ गरेका छन् ।
देउताहरूलाई चढाएको तेल मध्ये थोरै तेल बचाएर आ–आफ्ना शाखा सन्तानलाई लगाई दिने चलन रहेको छ । । व्रतको पहिलो दिन आज पूजापछि स्वरुची भोजन गर्ने चलन रहेको छ । अरू पर्वमा अशुद्ध मानिएका कोदोको रोटी, नुनीको साग र माछा खाने प्रचलन रहेको छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आजको दिन कोदो र माछा खाने गर्दछन् ।
यसै गरि धार्मिक विधिपूर्वक भोली बिहानै काग कराउनुभन्दा अगाडी व्रत बस्ने महिलाहरूले ओंगठन गर्ने चलन रहेको छ । यसमा च्युरा, दही तथा मिठाई खाने चलन रहेको छ । ओठगन गरेपछि उपवासको विधि शुरु हुन्छ । आजको दिन मैथिल ब्राह्मण समुदायका महिनाहरूले दिवङ्गत सासू पक्षका मातृहरूको स्मरणमा पितराईन खुवाउनुका साथै दक्षिण दिने चलन रहेको छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन एवं धार्मिक मान्यता रहेको छ ।
जितिया पर्व गर्ने आमाको सन्तानलाई कुनै आपत् विपत् आएको खण्डमा पनि जिमुतवाहनले बचाउने गरेको धार्मिक मान्यता रहेको छ । कसैको दुर्घटनामा परेर ज्यान जोगिएको खण्डमा अहिले पनि समाजमा तेरो आमाले खरजितिया गरेको भन्ने चलन रहेको छ ।