मृतकका परिवारलाई जनही दुई लाख दिने घोषणा

लोकप्रिय

बझाङ, असोज १९ गते ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण गएको पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

आज बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सरकारको साथ रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै मृतक परिवारलाई तत्काल दुई लाख सहयोग प्रदान गरिने घोषणा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने बताउनुभयो ।

भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles