शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ

लोकप्रिय

काठमाडौँ , असोज १९ गते । 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनु भएको छ । 

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताउनु भएको हो । उहाँले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताउनु भयो । महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुराउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताउनु भयो । 

उहाँले वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताउनु भयो । शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने उहाँको भनाई छ । शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले एक वर्ष नै लागे पनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो विधेयकको अन्तिम पृष्ठमा लेखिएको छ, यो विधेयक कानून बनेर कार्यान्वयन भइसके पछाडि संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा हुन्छ । संविधानले गरेको अपेक्षा भन्नासाथ संघीयताको कुरा आउँछ । पाठ्यक्रमको अपेक्षा भनेको ज्ञान प्राप्त गरेपछि उसले विवेचना गर्नसक्छ । २१ औं शताव्दीको युगमा ए.आई.रोवर्टीक्सको युगमा जानुपर्ने बेलामा विज्ञान, गणितको गहिरो संकट छ । कक्षा १ मा एक सय जना विद्यार्थी भर्ना हुन्छ, १२ कक्षा पुग्दै गर्दा ३० जना विद्यार्थी बाँकी हुन्छ । भन्नुको मतलव विद्यार्थी टिक्दैन । विज्ञान र गणितको सिकाई २८ मात्रै छ । अंग्रेजीको त करिव करिब २५ मात्रै छ । जो विद्यार्थी टिक्छ उसले सिक्दैन । नसिकेको हुनाले बिक्दैन । विद्यालयमा पढिरहेको विद्यार्थीलाई पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ । अर्थात् त्यहाँ भित्र प्रेरणा पनि छैन । 

५० जना भन्दा कम विद्यार्थी भएको विद्यालय ६ हजार भन्दा बढी छ । विद्यार्थी र शिक्षक सम्पूर्ण रुपमा पुगेको विद्यालय संख्या ६ सय पनि पुग्दैन । यो खालको व्यवस्थापनको अवस्था छ । अपेक्षा, अवस्था दुईवटै कुरा नहेरीकन खण्ड खण्डमा हेरेर यो विधेयक आएको छ । अब यो संसदको काम हो, हाम्रो काम हो । यो समितिमा जान्छ आज । समितिमा गएपछि हामीले हतार नगरि काम गर्नुपर्नेछ । 

दुई महिना लागोस् पाँच महिना लागोस्, साथीहरुले जनतामा लैजानुपर्छ भन्नुभएको छ,समितिले पनि त्यो काम गर्नसक्छ । सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ । वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनुपर्नेछ । विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ । शिक्षण पेशालाई आकर्षक पेशा, मर्यादित पेशा, सबैभन्दा हाईएस्ट पेड बनाउनुपर्नेछ । शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्नेछ । स्कुलको गभरनेन्सका बारेमा सच्याउनुपर्नेछ । स्थानीय सरकारको कुरा योसँग मिलाउनुपर्नेछ । विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्न जरुरी रहेको बताउनु भयो ।

ताजा समाचार

Related Articles