प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच छलफल

लोकप्रिय

काठमाडौँ, असोज २० गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उहाँहरूबिच सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसद्को चालु अधिवेशन तथा संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो । 

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउनेलगायत समसामयिक विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको जानकारी दिनुभयो । “सत्तारुढ दलहरूको बैठक बसेर सरकारलाई प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न विज्ञसँग छलफल गर्ने विषयमा कुराकानी भयो”, उहाँले भन्नुभयो । 

मन्त्री, नीति तथा आयोग एवम् राजनीतिक नियुक्तिका सम्बन्धमा दलहरूबिच भएको सहमति पालना नभएकामा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको थियो । संयुक्त राष्ट्र सङ्घका महासचिवको आसन्न नेपाल भ्रमण, भेटघाट तथा संसद्मा सम्बोधनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उहाँले जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles