बढ्यो कोदोको माग

लोकप्रिय

ढोरपाटन (बागलुङ), असोज २० गते । 

केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् । 

पहिले-पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला-ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका किसानले मात्रै व्यावसायिकरुपमा उत्पादन गर्ने गरेका छन् ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

पछिल्लो केही वर्षयता बागलुङ बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उहाँको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उहाँको भनाइ थियो ।

स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताउनुभयो । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उहाँले बताउनुभयो । बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताउनुभयो । उहाँले अघिल्लो वर्ष झन्डै ५० हजारको कोदो बिक्री गरेको सुनाउनुभयो । 

जिल्लाभर १८ हजार चार सय ५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार चार सय ५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदोलगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताउनुभयो ।यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताउनुभयो । दुई वटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उहाँको भनाइ थियो । 

ताजा समाचार

Related Articles