हेटौँडा, असोज २१ गते ।
थारू जातिले मनाउँदै आएको जितिया पर्व आइतबार समापन हुँदै छ । थारू समुदायले मनाउने यो पर्वमा शनिबार महिलाले व्रत बसेका थिए । यसअघि शनिबार हेटौँडामा जितिया पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको थियो । थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा जितिया पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष लिलाकुमार घलान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय प्रतिनिधी एवं मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्त्वपूर्ण रहेको भन्दै स्थानीय सरकार सबै समुदायको संस्कार, संस्कृतिको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टिले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति दौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गित, नृत्यसहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरीलगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
जितिया पर्वको पहिलो दिन हेटौँडाको राप्ती खोलामा सामुहिक नुहाएका थारु महिलाहरुले दोस्रो दिन जित महान भगवानको निराहार र निर्जल व्रत बसेर जित महान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामुहिक पुजा गरेर पारन गरेको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
विशेषगरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तानको दीर्घायुको लागि व्रत बस्ने गर्दछन् ।