आवधिक योजना बनाउँदै उपहानगर

लोकप्रिय

हेटौँडा, असोज २१ गते ।
हेटौँडा उपमहानगरपालिकाले आगामी २०८१–०८६ को आवधिक योजना तर्जुमाको तयारी थालेको छ ।
उपमहानगरपालिकाले जनअपेक्षा र आवश्यकताको आधारमा आवधिक योजना बनाउन छलफल अगाडि बढाएको हो ।
उपमहानगर अन्तर्गतका विषयगत समितिसहित विषय विज्ञहरुसँग छलफल गर्दै दीर्घकालीन लक्ष्यका योजना छनोट गर्न आयोजित कार्यशाला गोष्ठीले ‘स्वच्छ, उत्पादनशील र समृद्ध सहर हेटौँडा’ सोच निर्धारण गरेको छ ।
गोष्ठीबाट आएको सोचको आधारमा आगामी तीन महिनाभित्र वडागत रुपमा विभिन्न साना तथा ठूला योजनाहरु छनोट गरी आवधिक योजना निर्माण गरिने भएको छ । कार्यशालामा नगरप्रमुख मीनाकुमारी लामाले हेटौँडाको समग्र विकासमा प्रभाव पार्ने योजनाहरु संलग्न गर्दै आवधिक योजना निर्माण गरिने जानकारी दिनुभयो ।
आवधिक योजना निर्माणको क्रममा नगरका सबै वडामा पुगेर जनस्तरबाटै आवश्यकता र मागका आधारमा आएका योजनाहरुका लागि आगामी वर्षको बजेट विनियोजन गरिने भन्दै उहाँले आगामी पुसमा हुने नगर सभाबाट आवधिक योजना स्वीकृत गरी लागू गरिने बताउनुभयो ।
सेवा प्रदायक संस्थाको सहयोगमा उपमहानगरपालिकाले आवधिक योजनाका लागि जनस्तरमा पुगेरै कार्यक्रम र योजनाहरुको बारेमा छलफल चलाउनेभएको छ ।
यसअघि पालिकाले २०६८–०७२ सम्म पञ्चवर्षीय आवधिक योजना बनाएर कार्यान्वयन गरेको थियो । विषयगत समिति र उपसमिति निर्माण गरेर बजेटका प्राथमिकता र कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आवधिक योजना निर्माण हुने हेटौँडा उपमहानगरले जनाएको छ । आवधि योजना निर्माणको क्रममा समाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास, वन, वातावरण तथा विपत् जोखिम विकास र सस्थागत विकास तथा सुशासन विकास समिति बनाएर काम अघि बढाइएको छ ।

ताजा समाचार

Related Articles