दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

लोकप्रिय

काठमाडौँ, असोज २२ गते ।

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लाग्नुभएका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुग्नुभयो । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुग्नुभएका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाउनुभएको छैन । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैँको समयमा त बस थप्नुपरो नि”, उहाँ भन्नुहुन्छ । काठमाडौँबाट दार्चुलाको भाडादर रु रु चार हजार छ सय छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ ।

हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

ताजा समाचार

Related Articles