बाख्राको दूधबाट बनेको चिजको माग

लोकप्रिय

तनहुँ, असोज २२ गते ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।

पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यले सोही प्रविधि सिकेर आफूहरुले दूधबाट चिज बनाउन सुरुआत गरेको जानकारी दिनुभयो । चिज बनाउने तालिममा कार्यक्रमका कर्मचारी निरबहादुर राना र स्याङ्जाका बाख्रा पालक कृषक दिलबहादुर गुरुङ समेत सहभागी हुनुभएको कार्यक्रमले जनाएको छ ।

“तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन”, कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भन्नुभयो, “चिज बनाउने तालिम पाएपछि अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।”

कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध सङ्कलन हुने गरेको उहाँले बताउनुभयो । एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब एक सय ५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिनुभयो । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलोग्रामको रु एक हजारमात्र लिने गरिएको छ ।

ताजा समाचार

Related Articles