अमेरिका–चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ

लोकप्रिय

बेइजिङ। चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताउनुभएको छ । 

बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुनुहुन्छ ।

“परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्नेछ”, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुमरसँगको भेटमा सिले भन्नुभयो ,“हामीसँग चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु ।”

उहाँले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताउनुभयो । 

जवाफमा सुमरले राष्ट्रपति सिसँग भन्नुभयो, “हाम्र मुलुकहरूले यो शताब्दीलाई आकार दिनेछन्, त्यसैले हामीले हाम्रा सम्बन्धलाई जिम्मेबार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्छ ।” 

पछि सुमरले पत्रकारहरूसँग राष्ट्रपति सिसँग तोकिएको भन्दा दोब्बर ८० मिनेट कुराकानी भएको बताउनुभयो ।

यसअघि चीनका विदेशमन्त्री वाङ यीले वासिङ्टन र बेइजिङले आफ्ना मतभिन्नताहरूलाई ‘तर्कसङ्गत’ व्यवस्थापन गर्नसक्ने आशा व्यक्त गर्नुभएको थियो । 

दियाउती स्टेट गेस्टहाउसमा सुमरसँगको भेटमा वाङले सिनेट प्रतिनिधिमण्डलको भ्रमणले दुई मुलुकबीचको मतभिन्नताहरूलाई तर्कसङ्गतरूपमा व्यवस्थापन गर्न र दुई मुलुकबीचको सम्बन्धलाई स्वस्थ विकासको मार्गमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेको बताउनुभएको थियो । एएफपी

ताजा समाचार

Related Articles