काठमाडौँ, असोज २३ गते ।
विश्व बैङ्कको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनएको छ ।
अर्थमन्त्री डा महतले निजी पूँजी आकर्षित गर्न सूचना तथा सञ्चार, कृषि व्यवसाय, पर्यटन लगायत क्षेत्रमा लगानी गर्ने प्रशस्त अवसर रहेका जनाउँदै स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।
आइएफसीका उपाध्यक्ष पुलितीले लगानीको वातावरण बनाउन नेपाल सरकारले गरेका प्रयासको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।